काठमाडौं, १४ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
यस प्रणाली मार्फत मलको आयात, स्टक र विक्री–वितरण सम्बन्धी अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
विशेषगरी अनुदानमा वितरण गरिने मलको वितरण कार्यमा विक्रेताले पक्षपात गर्ने, बढी मूल्य लिने, अनाधिकृत व्यक्ति तथा संस्थालाई बेच्ने भन्ने जस्ता गुनासोलाई सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।
यस प्रणालीमार्फत् मल विक्रेता सहकारी वा फर्मले पाएको मलको कोटा, स्टकको विवरण र प्रत्येक पटक विक्रेता सहकारी वा फर्मले पाएको कोटाको मल कुन कृषकलाई के–कति परिमाणमा विक्री गरेको बारेमा विस्तृत विवरण जो सुकैले पनि हेर्न सक्नेछन् ।
सर्वसाधारण तथा किसानले http://fms.moald.gov.np वा मन्त्रालयको वेभसाइटमा गएर विवरण हेर्न सक्नेछन् । वेवसाइट ‘हाम्रो सेवाहरु’मा रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली‘ मा क्लिक गरी आफ्नो स्थानीय तह छनौट गरेर अनुदानित मलको स्टक तथा विक्रि वितरण सम्बन्धी विवरण हेर्न सक्नेछन् ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मल विक्रेता सहकारी र फर्महरूले मलको स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य र नियमित यस प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ । विक्रेताले विवरण प्रविष्ट गरेपछि मात्र प्रणालीमा देखिने भएकाले यस कार्यमा जोडिन मन्त्रालयले अनुरोध समेत गरेको छ ।
साथै मन्त्रालयले किसानलाई यस सुविधाको उपयोग गरि मल वितरण कार्यलाई पारदर्शी बनाउने सरकारको प्रयासमा सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।