बैंकिङ प्रणालीबाट किन घट्दै छ मुद्दती निक्षेप ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२७ मंसिर २०८२
बैंकिङ प्रणालीबाट किन घट्दै छ मुद्दती निक्षेप ? (भिडियो रिपोर्ट)

काठमाडौं, २७ मंसिर । नेपालको बैंकिङ प्रणालीमा मुद्दती निक्षेप घट्न थालेको छ । पछिल्लो एक दशकमा मुद्दती निक्षेपको वृद्धिदर वार्षिक औसत करीब २४ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा भने यो ३.७३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थामा ३६ खर्ब ४२ अर्ब २६ करोड मुद्दती निक्षेप रहेकोमा गत आवमा घटेर ३५ खर्ब ८ अर्ब ६९ करोडमा आएको छ ।

बैंकिङ प्रणालीमा मुद्दती निक्षेपको घट्दो क्रम चालू आवको पहिलो त्रैमासमा पनि देखिएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको मुद्दती निक्षेप ४ दशमलव ५ प्रतिशतले घटेको छ, जसमध्ये वाणिज्य बैंकहरूमा ३ दशमलव १३, विकास बैंकमा १६ दशमलव ८३ र वित्त कम्पनीमा ७ दशमलव १६ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट मुद्दती निक्षेप घट्दै जाँदा विशेषगरी बैंकहरूको दीर्घकालीन लगानी प्रभावित हुन सक्छ ।

मुद्दती निक्षेप स्वीकार्ने बैंक तथा वित्तीय संस्थाहरूमध्ये गत आवमा विकास बैंकहरूमा मुद्दती निक्षेप सबैभन्दा धेरैले घटेको छ । अघिल्लो आवको तुलनामा विकास बैंकहरूको यस्तो निक्षेप १७ प्रतिशतले घटेको हो । यस्तै वित्त कम्पनीमा ५ र वाणिज्य बैंकहरूमा २ प्रतिशतले घटेको छ ।

बैंकहरूमा लामो समयदेखि अधिक तरलताको अवस्था छ । यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय प्रणालीबाट निरन्तरजसो पैसा खिचिरहेको छ । तर त्यो पर्याप्त नभएकाले यसको उचित व्यवस्थापनका लागि विकास निर्माण तथा आर्थिक क्रियाकलाप नै बढ्नुपर्नेमा जोड दिइएको छ ।

 

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४६ दशमलव ४ प्रतिशत छ । यस्तै बचत ३८ दशमलव ७ र चल्ती निक्षेपको हिस्सा ६ दशमलव ४ प्रतिशत रहेको छ । मङ्सिर तेस्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७५ अर्ब ३५ अर्ब रहेको छ ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस