काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालले १६३ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३५ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि अफगानस्तान छ । सो अवधिमा नेपाल अफगानस्तानसँग ६८ करोड २५ लाख रुपैयाँभन्दा बढीको बचतमा छ । चैतसम्ममा नेपालले अफगानस्तानतर्फ ७० करोड ५३ लाख मूल्य भन्दा बढीको वस्तु निर्यात गरेको छ भने २ करोड २८ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
बेलायतपछि नेपाल डेनमार्कसँग सबैभन्दा धेरै बचतमा छ । गत वर्षको चैतसम्ममा नेपालले डेनमार्कतर्फ ५२ करोड ३७ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने २ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, अर्थात चैतसम्ममा डेनमार्कसँगको व्यापारमा नेपाल २३ करोड ४७ लाख रुपैयाँले बचतमा छ ।
नेपालको व्यापार बचतमा रहेको तेस्रो मुलकका रुपमा रुस रहेको छ । चालू आवको चैतसम्ममा नेपाल रुससँग ३ करोड ५१ लाख मूल्य बराबरको बचतमा छ । सो अवधिमा नेपालले रुसतर्फ १३ करोड ९८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने १० करोड ४६ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ ।

यसैगरी चालू आवको चैतसम्ममा १६३ मुलुकसँग व्यापार गरेको नेपालले १२८ सँग घाटा बेहोरेको छ । नेपालले बेहोरेको कुल व्यापार घाटामध्ये छिमेकी मुलक भारतसँग मात्रै ५६ दशमलव ६९ प्रतिशत रहेको छ । चैतसम्ममा नेपालले भारतबाट ७ खर्ब ८५ अर्ब ७४ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ १ खर्ब ४९ अर्ब ९८ करोडको वस्तु निर्यात गरेको छ, अर्थात भारतसँग मात्रै नेपालले ६ खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।
भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चालू आवको ९ महिनामा नेपाल चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले चीनतर्फ २ अर्ब २५ करोड ५६ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने २ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग २४ अर्ब ३८ करोड ४७ लाखभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै यस वर्षको नौ महिनामा नेपालले अर्जेन्टिनासँग ५७ अर्ब ७० करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।
