काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको बृहत खबरदारी सभा बल्खुमा सुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राप्रपाले जनप्रदर्शन गर्न लागेको हो । उक्त सभाका लागि राप्रपाका नेता कार्यकर्ता काठमाडौँका विभिन्न क्षेत्रबाट बल्खुमा पुगिसकेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू अहिले बल्खु पुगिसकेका छन् ।
कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस निकालिएको छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो, नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा बोेकेका छन् ।
उक्त आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्दै छन् । यस्तै, राप्रापाले आयोजना गरेको जनप्रदर्शनमा सरकारले सुरक्षा व्यवस्थामा समेत कडाइ गरेको छ ।
चैत १५ को तीनकुने हिंसापछिको भएको आगजनी धनजनको क्षतिबाट सजग भएर सरकारले हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटाएको छ । प्रदर्शनस्थलमा एम्बुलेन्स र दमकलसँगै नेपाल रेडक्रस र मानव अधिकारकर्मीको टोली पनि परिचालित छन् ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो । राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको बताएको छ ।