काठमाडौं, २० असोज । गृहमन्त्री सुदन गुरूङले राज्यले सुम्पिएको गोपनीयता र संवेदनशील सूचना दुरुपयोग गर्ने जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरूङले देश र संगठनमाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै पनि अवस्थामा उन्मुक्ति नपाउने बताएका हुन् । राज्यको गोपनीयतामाथि विश्वासघात गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
गृहमन्त्री गुरूङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय मर्यादा बिर्सिएर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको उल्लेख गरेका छन् ।
उनका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति होइनन् । पदका कारण त्यस्ता सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नहुने उनले बताए ।
राज्यका लागि प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुने गृहमन्त्री गुरूङले उल्लेख गरे ।
उनको यस्तो धारणा गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेपछि आएको हो ।