काठमाडौं, २५ चैत । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
कलाकार समेत रहेकी कुँवर पूर्वपत्रकार पनि हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
सोही घरमा पत्रकारको मृत्यु भएको र उस्तै समयमा कुँवर सोही भवनबाट झर्दै गरेको देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।