काठमाडौं, २६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले गण्डकी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली र तराई भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरिको पनि सम्भावना रेहको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू–भागका साथै लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।