काठमाडौं, १५ भदौ । वर्षा भइरहेकाले देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले भदौ १५ गते नुवाकोट र रसुवाका साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै ती जिल्लामा उच्च जोखिम रहेको जनाएको हो ।
महाशाखाका अनुसार नुवाकोट र रसुवामा आज आकस्मिक बाढीको सम्भावना उच्च छ । विशेषगरी भोटेकोसी र त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसीमा बाढी आएको स्मरण गराउँदै महाशाखाले अहिले भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता आवश्यक रहेको जनाएको छ ।
यस्तै, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने अनुमान छ । यी जिल्लामा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यसैबीच सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, महाकाली र कन्काईलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
यद्यपि, आज बिहान गरिएको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।