काठमाडौं, ११ भदौ । नेपाललाई बाढीको सूचना नदिएको आरोपको विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासले प्रतिक्रिया दिएको छ । दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत चीनमाथि लागेको आरोपको खण्डन गरेको हो ।
सामाजिक सञ्जाल तथा मिडियामा “चीनले अग्रिम सूचना नदिँदा नेपालतर्फ ठूलो जनधनको क्षति भयो“ तथा “चीनतर्फको बाँध भत्किएका कारण बाढी आएको“ भन्ने प्रचार भएसँगै काठमाडौंस्थित चिनियाँ दूतावासले त्यसलाई ‘फेक न्युज’ भन्दै औपचारिक स्पष्टीकरण दिएको हो ।
बुधबार आएको बाढीले नेपालको मात्रै नभएर चीनतर्फ पनि उत्तिकै क्षति भएको जनाउँदै दूतावासले ‘चीनले सूचना दिएन’ भन्नु झुट भएको जनाएको छ ।
दूतावासको स्पष्टीकरणअनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो । सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पु¥याउनुका साथै मानिसहरू बेपत्ता भएको दूतावासले जनाएको छ ।
विपद्को यस संवेदनशील घडीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश चीनले दिएको छ ।
