प्रधानमन्त्री शाहले कालो चस्मा लगाउने कारण यस्तो, स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयमा

अनलाइनसमय |
९ भदौ २०८३
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउने कारण यस्तो, स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयमा

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री बालेन शाह कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।

प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ ।

सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए । कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन उनले आग्रह गरेका थिए ।

यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र पुगेको हो ।

प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए । परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाएको पाइएको छ ।

दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।

यसअनुसार सभामुख अर्यालले प्रधनमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । त्यसअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका हुन् ।

यो कार्यक्रममा सरिक हुन प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने अवस्थासहितको पत्र संसद् सचिवालय पुगेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस