काठमाडौं, ७ भदौ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव १३ अंकले घटेर दुई हजार ५९९ दशमलव ५८ बिन्दुमा कायम भएको हो ।
आज ८५ लाख ७२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ४७ धितोपत्रको शेयर मूल्य बढ्दा २२९ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५० धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार सबै समूहको उपसूचक घटेको छ । यसदिन हाइड्रोपावर सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ ।
आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि धौलागिरी लघुवित्त ११ दशमलव ९८, सीवाइसी नेपाल लघुवित्त ९ दशमलव १४ र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव २७ प्रतिशतले बढेको छ ।
यसदिन पञ्चकन्या माइ हाइड्रोपावर ९ दशमलव ८३, विन नेपाल लघुवित्त ८ दशमलव ६७, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड ८ दशमलव २७, माउण्ट एभरेष्ट पावर डेभलवमेन्ट ७ दशमलव ७६ र नेपाल समृद्धि लगानी योजनाको शेयर मूल्य ५ दशमलव ४६ प्रतिशतले ह्रास आएको छ ।