काठमाडौं, ८ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते सर्बिया जाने भएका छन् ।
सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाइलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
भदौ १५ र १६ बेलग्रेडमा आयोजना हुने उक्त स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधि टोली सहभागी हुनेछ ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा विश्वका नेता, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने छ । नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ ।
मन्त्री खनाल १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम छ ।