काठमाडौं, २ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले सुदुरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा, पहाडी भू–भागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थान, मधेश तथा बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।