काठमाडौं, १ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले हाल देशभर साधारणतया बादल लागेको छ । गण्डकी प्रदेशका धेरै स्थानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशकाको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।