काठमाडौं, ३० वैशाख । बसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा ५ जना आरोही तथा पथप्रदर्शक (गाइड) हरूको निधन भएको छ ।
पर्यटन विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै वैशाख २० देखि २८ सम्ममा आरोहणका क्रममा ५ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
विभागका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली पथप्रदर्शकहरूले ज्यान गुमाएका छन् । सोलुखुम्बु निवासी लाक्पा डेण्डी शेर्पाको गत वैशाख २० गते सगरमाथा आधार शिविर नजिकै मृत्यु भएको थियो । उनी ‘सेभेन समिट ट्रेक्स’ मार्फत आइटीबीपी वुमेन्स एभरेष्ट एक्सपिडिसनमा आबद्ध थिए ।
त्यसैगरी, ‘ट्याग नेपाल ट्रेक्स’ मार्फत गएका सोलुखुम्बुकै विजय घिमिरेको वैशाख २७ गते खुम्बु आइसफलमा र ‘काइटु एक्सपिडिसन’ बाट गएका फुरा गेलजेन शेर्पाको वैशाख २८ गते सगरमाथाको तेस्रो शिविरमा मृत्यु भएको विभागले जनाएको छ ।
यसैगरी मकालु हिमाल आरोहणका क्रममा दुई जना विदेशी पर्वतारोहीले ज्यान गुमाएका छन् । चेक रिपब्लिकका नागरिक डेभिड रुबिनेकको वैशाख २१ गते मकालु २ को ७ हजार ३ सय मिटर उचाइमा मृत्यु भएको थियो । त्यस्तै, संयुक्त राज्य अमेरिकाकी नागरिक जोहानेस शेलीको वैशाख २८ गते मकालु १ को ७ हजार २ सय मिटर उचाइमा मृत्यु भएको विभागले जनाएको छ ।
