काठमाडौं, १५ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८२/८३ मा नेपालको प्रतिव्यक्ति आय स्थिर रहने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरे पनि प्रतिव्यक्ति आय भने स्थिर रहने जनाएको छ ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आवमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालू आवमा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको कार्यालयले जनाएको छ ।
‘डलरको सटही दरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/८२ मा र आर्थिक वर्ष २०८२/८३ मा बराबर रहन गएको अनुमान रहेको छ,’ कार्यालयले सार्वजनिक गरेको विवरणमा भनेको छ ।
चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । आव २०८१/८२ मा प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन १ हजार ९९४ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ ।
आव २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन १ हजार ८७७ अमेरिकी डलर कायम भएको छ । कार्यालयले भनेको छ, ‘डलरको सटही दरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ ।’