काठमाडौं, १४ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन् ।
५८ वर्षे उमेर हदका कारण उनी अवकाश भएका हुन् । डा. अधिकारी २०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका थिए ।
धितोपत्र बोर्डमा २६ वर्ष ७ महीनाको सेवाअवधिमा उनले सचिव, प्रवक्ता तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कार्यकारी निर्देशकका रूपमा भने उनले ३ वर्ष ११ महिना काम गरेका छन् । उनी २०७९ जेठ २६ गते उक्त पदमा नियुक्त भएका थिए ।
अवकाश भएसँगै धितोपत्र बोर्डले बिहीवार अधिकारीलाई बिदाइ गरेको थियो । कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको मूल्यांकन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
नीति निर्माण, कर्मचारी क्षमता विकास, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, बजार सुपरीवेक्षण र अनुगमनमा अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हाल बोर्डमा अध्यक्ष पद रिक्त छ । २०८१ मंसिर १० गते नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यही वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद खाली भएको हो ।
डा. अधिकारीले यसअघि पाँच पटक बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए । अवकाशसँगै अध्यक्ष पद खाली रहेकाले यसपटक पनि उनी प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ ।