काठमाडौं, ८ वैशाख । गत फागुनको तुलनामा चैतमा डिजेल आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चैतमा मात्रै १ लाख ३८ हजार ५८५ किलोलिटर डिजेल आयात आयात भएको छ, जुन अघिल्लो महिना फागुनको तुलनामा ६ दशमलव ५६ प्रतिशतले बढी हो । गत फागुनमा १ लाख ३० हजार ५२ किलोलिटर डिजेल आयात भएको थियो ।
विभागका अनुसार चालू आवको चैतसम्म डिजेलको कुल आयात परिमाण १० लाख ३५ हजार ३३ किलोलिटर पुगेको छ, जुन १ खर्ब ३ अर्ब ३८ करोड मूल्य बराबरको हो ।
फागुनसम्म कुल डिजेल खपतमा १० अर्ब २१ करोड रुपैयाँ खर्च हुने गरेकामा चैतमा यस्तो रकम २१ अर्ब २१ करोड पुगेको छ । डिजेल व्यावसायिक प्रयोजनमा खपत हुने भएकाले माग घट्ने गर्दैन ।
यसैगरी, पेट्रोल माग सामान्य घटेको तथ्यांकले देखाएको छ । चैतमा ५६ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको छ । गत फागुनमा ६३ हजार ९८८ किलोलिटर आयात भएको थियो ।
सरकारले चैतमा डिजेल आयातबाट मात्रै ४ करोड २५ लाख १९ हजार २३१ र पेट्रोलबाट ३ करोड २३ लाख १० हजार ५९६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले इन्धन खपत घटाउने भन्दै गत र्चत २३ गतेदेखि शनिबार र आइतबार बिदा घोषणा गरे पनि खासै प्रभावकारी नदेखिएको उक्त तथ्यांकले देखाउँछ । यद्यपि, सो महिनामा दुई दिन विदा एक हप्ता मात्रै भएकोले यसको प्रभाव वैशाखमा देखिनेछ ।