नौ महिनामा थपियो २.५९ खर्ब सार्वजनिक ऋण

अनलाइनसमय |
४ वैशाख २०८३
नौ महिनामा थपियो २.५९ खर्ब सार्वजनिक ऋण

काठमाडौं, ४ वैशाख । पछिल्लो नौ महिनामा नेपालको सार्वजनिक ऋण दायित्व ९ दशमलव ७१ प्रतिशतले बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को चैत मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । चालू आवको सुरुमा यस्तो ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ मात्रै थियो । अर्थात पछिल्लो ९ महिनामै सार्वजनिक ऋण २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँले थपिएको छ ।

चालू आवको चैतसम्मका नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४८ दशमलव ०४ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २२ दशमलव ७३ प्रतिशत र बाह्य ऋणको हिस्सा २५ दशमलव ३१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

चैतमसान्तसम्म सरकारल सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा बाह्य ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड तिर्न बाँकी छ ।

लक्ष्यको ५८.४५ प्रतिशत ऋण प्राप्ती
यसैगरी, चालू आवमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ८१ दशमलव ४८ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ । त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १८ दशमलव ५२ प्रतिशत अर्थात् ६४ अर्ब ४८ करोड रुपैयाँ प्राप्त भइसकेको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस