काठमाडौं, २ वैशाख । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई थप सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले प्रविधिमा आधारित सेवाहरूको विस्तार गर्दै आफ्नो कार्यप्रणालीलाई थप आधुनिक बनाएको जानकारी गराएको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरूलाई प्रविधिमैत्री सेवा प्रदान गर्न ‘राष्ट्रिय जीवन बीमा’ को आधिकारिक मोबाइल एप सञ्चालनमा ल्याएको छ, जसलाई गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ । यस एपमार्फत बीमितहरूले आफ्नो बीमा योजनाको विस्तृत विवरण हेर्न, बीमा शुल्कको गणना गर्न र अभिकर्ता सम्बन्धी जानकारीहरू तत्कालै प्राप्त गर्न सक्नेछन् ।
आर्थिक कारोबारलाई थप सरल बनाउन कम्पनीले डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिएको छ । अब सेवाग्राहीहरूले बीमा शुल्क बुझाउन वा लिएको कर्जाको साँवा तथा ब्याज फिर्ता गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ; कनेक्ट आइपीएस, इसेवा, खल्ती र फोनपे जस्ता डिजिटल माध्यमबाट घरैमा बसेर सहजै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
साथै, कम्पनीले आफ्नो आन्तरिक र बाह्य भुक्तानी प्रक्रियालाई पूर्ण रूपमा ‘पेपरलेस’ बनाएको छ । बीमा दाबी भुक्तानी, भेन्डर भुक्तानी लगायतका सम्पूर्ण खर्च एवं भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिएको छ । प्रविधिको यो उच्चतम प्रयोगबाट सेवा प्रवाहमा अझ सहज, सुरक्षित, पारदर्शिता, शीघ्रता र विश्वसनीयता कायम हुने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीले आगामी दिनहरूमा समेत सूचना प्रविधिमा आधारित सेवाहरूको थप विस्तार र स्तरोन्नति गर्दै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ । सम्पूर्ण सेवाग्राहीहरूलाई यी डिजिटल सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्दै थप जानकारीका लागि कम्पनीको वेबसाइट www.rbs.gov.np हेर्न वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।