काठमाडौं, ३ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा करिब २१ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार पाँच महिनामा २० अर्ब ७७ करोड ६३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
सोही अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमुलक क्षेत्रमा रहेको छ । यस क्षेत्रमा १२ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । त्यस्तै, सेवामूलकतर्फ ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ, उत्पादनमूलकतर्फ १ अर्ब ८१ करोड १० लाख रुपैयाँ, सूचनाप्रविधिमूलकतर्फ ६७ करोड ८७ लाख रुपैयाँ, कृषिमूलकतर्फ ६७ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकतर्फ २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार लगानी प्रतिबद्धता विभिन्न क्षेत्रका ३१९ उद्योग स्थापनाका लागि आएको छ । सो लगानी प्रतिबद्धता १४५ वटा पर्यटनमूलक, १०६ वटा सूचनाप्रविधिमूलक, ४० वटा सेवामूलक, २२ वटा उत्पादनमूलक, पाँच वटा कृषिमूलक र एउटा पूर्वाधारमूलक उद्योग स्थापना गर्न आएको विभागले जनाएको छ ।