आइक्यान र आईसीएआईबीच पारस्परिक मान्यता सम्झौता, सीएहरूको व्यावसायिक अवसर थप फराकिलो

अनलाइनसमय |
१५ असोज २०८३
आइक्यान र आईसीएआईबीच पारस्परिक मान्यता सम्झौता, सीएहरूको व्यावसायिक अवसर थप फराकिलो

काठमाडौं, १५ असोज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) बीच पारस्परिक मान्यता सम्झौता भएको छ ।

भारतको नयाँ दिल्लीस्थित आईसीएआई भवनमा सेप्टेम्बर २९ (असोज १३) मा आयोजित एक विशेष समारोहकाबीच दुई देशका सीए निकायहरूबीच पूर्वविद्यमान सम्झौतालाई थप ५ वर्षका लागि सम्झौता गरिएको हो । यो सम्झौता दुई संस्थाहरूबीच पूर्वविद्यमान सम्झौताको निरन्तरता हो । नयाँ सम्झौता आगामी २० अक्टोबर २०३० सम्म लागू हुनेछ ।

सम्झौता पत्रमा आईक्यानका अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र आईसीएआईका अध्यक्ष सीए प्रसन्न कुमार डी. ले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा आईक्यानका उपाध्यक्ष सीए हेमकुमार काफ्ले, आईसीएआईका उपाध्यक्ष सीए मंगेश किनारे, आईक्यानका कार्यकारी निर्देशक सीए विमल डाँगी, आईसीएआई परिषद्का सदस्यहरू तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार कुनै पनि संस्थाबाट नियमित शिक्षा र तालिम पूरा गरी ‘गुड स्ट्यान्डिङ’ मा रहेका चार्टर्ड एकाउन्टेन्टहरूले अर्को संस्थाले तोकेको विशिष्ट परीक्षा उत्तीर्ण गरेपछि आफ्नो विद्यमान योग्यताको मान्यतासहित अर्को संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले व्यावहारिक तालिम (आर्टिकल्सिप) को मान्यतालाई समेत समावेश गरेको छ । अर्को संस्थाको सदस्यता लिने सदस्यहरूको व्यावसायिक अभ्यास अधिकार भने सम्बन्धित देशको कानुन र नियम अनुसार निर्धारण हुनेछ ।

सम्झौता हस्ताक्षर हुनुअघि आईक्यानका अधिकारीहरूका लागि दुई दिने अवलोकन तथा तालिम कार्यक्रम आयोजना गरिएको थियो । आईसीएआईका अधिकारीहरूले सञ्चालन गरेको उक्त सत्रहरूमा सीए शिक्षाका नवीनतम प्रवृत्ति र विकास, निरन्तर व्यावसायिक शिक्षा, डिजिटल रुपान्तरण र एआई, परीक्षा व्यवस्थापन तथा नियमन सम्बन्धी विषयहरूमा जानकारी गराइएको थियो । सो कार्यक्रमले दुवै संस्थालाई आफ्ना प्रणाली, प्रक्रिया र अभ्यासका अनुभव आदानप्रदान गर्नका साथै आगामी दिनमा सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्न सहयोग पु¥याएको छ ।

एमआरएको यो निरन्तरता आईक्यान र आईसीएआईबीचको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ । यसले नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्टहरूका लागि व्यावसायिक गतिशीलताका अवसरहरूलाई निरन्तरता दिएको छ । साथै, यसले अन्तर्राष्ट्रिय सहकार्य र नेपाली सीए योग्यताको विश्वव्यापी मान्यतालाई सुदृढ बनाउनेतर्फ आईक्यानको प्रतिबद्धतालाई समेत झल्काउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस