काठमाडौं, २ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई पनि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
प्रहरीले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले प्रहरीले लामिछानेलाई म्याद थपका लागि आठौंपटक अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको थियो । सुरुमा सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरेको छ ।