निर्वाचन आयोगले २३ मंसिरबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने

अनलाइनसमय |
२१ मंसिर २०८१
निर्वाचन आयोगले २३ मंसिरबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने जनाएको हो ।

यसअघि गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

साथै आफ्नो मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नका लागि वेबसाइटमार्फत आवेदन दिन सकिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस