काठमाडौं, २० मंसिर । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव कसैसँग गठबन्धन नगरी एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारीे बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको ठहर छ । २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको सापकोटाको भनाइ छ ।
कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले बताए ।
सापकोटाले ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए ।
यस्तै उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।
सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए ।