विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

अनलाइनसमय |
१८ मंसिर २०८१
विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

काठमाडौं, १८ मंसिर । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सोमबार सार्वजनिक गरेको उक्त सूचीमा नेपाली शिलशिला आचार्य परेकी छन् ।

पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको बीबीसीले जनाएको छ ।

उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा छन् ।

बीबीसी १०० विमिनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको वरपरको विश्व परिवर्तन हुँदै जाँदा त्यसैअनुरूप परिवर्तनका लागि अघि बढ्न गरेको प्रयासको कदर गर्छ ।

को हुन् शिलशिला आचार्य ?
शिलशिला आचार्यले दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन् । बीबीसीका अनुसार उनी नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउँछिन् । उनले फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाउँदै आएकी छिन् । यस संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको समेत बीबीसीले उल्लेख गरेको छ ।

आचार्यले सन् २०१४ मा ’धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्, जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार शिलशिला हिमालय सफा गर्ने अभियानका पनि जोडिएकी थिइन् । उक्त अभियानमा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो । आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएको बीबीसीले उल्लेख गरेको छ । बीबीसी नेपालीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस