काठमाडौं, ५ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
चालू आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको असोजमा यस्तो कर्जाको अंश ६३.०१ प्रतिशत थियो । यस्तै व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जाको अंश ३६.९ प्रतिशत थियो ।
असोजमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।
समग्रमा कर्जा प्रवाह बढेको देखिए पनि पछिल्लो एक वर्ष अवधिमा भने घर जग्गा धितोस सुरक्षणको कर्जा १.५ प्रतिशत विन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये घर जग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत कर्जा प्रवाह भएको छ, गत आवको अअसोजमा यस क्षेत्रमा ६७.३ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
चालू आवको असोजमा चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३.४ प्रतिशत रहेको कर्जा प्रवाह भएको छ । गत आवको असोजमा यस्तो कर्जाको अंशः १२.० प्रतिशत थियो ।
आव २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको छ ।