• अर्थ, ताजा समाचार, वाणिज्य

    ६८.४२ प्रतिशतले बढ्यो तीन वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता

     109 Views
    ६८.४२ प्रतिशतले बढ्यो तीन वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता

    काठमाडौं, ४ मंसिर । पछिल्लो समय भइरहेको प्रविधिको विकास र विस्तारको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा परेको छ । डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमैत्री सेवा सुविधामा जोड दिएका छन्, जसमध्ये एक हो मोबाइल बैंकिङ ।

    नेपाल राष्ट्र बैंककको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चार महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५५ लाख २४ हजार पुगेका छन्, जुन तीन वर्ष अघिको तुलनामा ६८ दशमलव ४२ प्रतिशतले बढी हो । आव २०७८/७९ मा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख ५३ हजार मात्रै थिए, अर्थात् तीन वर्ष अवधिमै १ करोड ३ लाख ६० हजार यस्ता प्रयोगकर्ता थपिएका छन् ।

    आव २०७८/७९ को कार्तिकमा डेढ करोड रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पछिल्लो आवको सोही अवधिसम्ममा ३९ लाख ४९ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका थिए, अर्थात् सोही वर्ष यस्ता प्रयोगकर्ताको सङ्ख्या २६ दशमलव ०६ प्रतिशतले बढेका थिए ।

    गत आव २०८०/८१ मा आइपुग्दा २ करोड २२ लाख ८४ हजारले मोबाइल बैंकिङ प्रयोग गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आवको कार्तिकसम्मको तुलनामा यस वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता १४ दशमलव ५३ प्रतिशतले बढेका छन् ।

    यस्तै चालू आवको चार महिनामा इन्टरनेट बैंकिङ सेवा २० लाख २६ हजारभन्दा धेरै प्रयोगकर्तामा पुगिसकेको छ, जुन तीन वर्ष अघिको तुलनामा ६१ दशमलव प्रतिशतले धेरै हो । आव २०७८/७९ मा १२ लाख ५८ हजार प्रयोगकर्तामा मात्रै इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।

    आव २०७९/८० को कार्तिकसम्ममा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ३६ दशमलव प्रतिशतले बढेर १७ लाख १९ हजार पुगेका थिए । पछिल्लो वर्षको सोही अवधिमा आइपुग्दा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या घटेको छ । आव २०८०/८१ को चार महिनासम्ममा यस्ता प्रयोगकर्ता ५ दशमलव ५० प्रतिशतले घटेर १६ लाख २५ हजारमा झरेको थियो ।

    यस्तै आव २०७८÷७९ को कार्तिकम्ममा ९३ लाख ६९ हजार रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा ४० दशमलव ४७ प्रतिशतले बढेर १ करोड ३१ लाख ६१ हजार पुगिसकेको छ । आव २०७९/८० मा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड १५ लाख ५७ हजार रहेकोमा गत आवमा १ करोड २६ लाख ३९ हजार आइपुगेका थिए ।

    यस्तै चालू आवको चार महिनामाक्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ९६ हजार ८६४ र २ लाख १ हजार ३०१ पुगेको छ । सो अवधिमा ५ हजार २२० एटिएम रहेका छन् ।

    राष्ट्र बैंकका अनुसार कार्तिकसम्मा ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ४८८ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ६९ लाख ७५६ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment