काठमाडौं, १९ कार्तिक । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ ।
कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो । थाई एसियाको विमान आइतबार बिहान ६ः५५ बजे थाई चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवाबाट उडान गर्नेछ ।
जहाजको अवतरण अनुमति समाप्त भएको थाई एयर एशियाको जहाज गत कात्तिक ११ गते नेपाली आकाशमा ‘होल्ड गरिएको थियो । व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर उक्त एयरबस काठमाडौं आइपुगेको थियो । पछि मानवियताको आधारमा सो जहाजलाई अवतरण अनुमति दिइएको थियो ।
उक्त घटनापश्चात नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको थियो ।