नेपाल भित्रियो मनसुन,देशभर फैलिन केही दिन लाग्ने

अनलाइनसमय |
२८ जेठ २०८१
नेपाल भित्रियो मनसुन,देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं, २८ जेठ । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गर्दछ । नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्छ ।

गत वर्ष अर्थात् २०२३ मा एक दिन ढिलो गरी जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो । विभागका अनुसार, नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस