काठमाडौं, ७ मंसिर । भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । दुवै प्रधानमन्त्रीबीच बिहान ११ः१५ बजे हैदरावाद हाउसमा एक्लाएक्लै (वन अन वन) वार्ता हुने कार्यक्रम छ ।
त्यसपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र विभिन्न क्षेत्रमा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनालगायतका क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेस ब्रिफिङ गर्नेछन् । त्यसपछि मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आयोजना गर्ने दिवा भोजमा उनी सहभागी हुनेछन् ।
दिवा भोजपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति मुर्मूसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी आज साँझ ६ः४५ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।