हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात गरिने

अनलाइनसमय |
१ मंसिर २०८३
हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात गरिने

काठमाडौं, १ मंसिर । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दर विद्युत आपूर्ति गर्न अनुमति पाएको हो ।

यसका लागि दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । प्राधिकरणले आजदेखि आगामी १५ साउनसम्म विद्युत् आयात गर्न पाउने छ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत आयात गर्न सकिने छ ।

अनुमतिअनुसार, कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने जानकारी दिए ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यो अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

यसैगरी, विद्युत् प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स)मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले आजदेखि आगामी १५ साउनसम्म उक्त विद्युत् निर्यात गर्न पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस