काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । यसका लागि आउँदो मंसिर ४ गते प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बैठकमा बोलाएको आयोगले जनाएको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते सकिँदैछ । प्रचलित कानुनी व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आगामी फागुनभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्था छ ।
निर्वाचनको समयसीमा र आवश्यक तयारीबारे राजनीतिक दलहरूलाई जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।