ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै

अनलाइनसमय |
३० कार्तिक २०८३
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै

काठमाडौं, ३० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने भएको छ । विश्वका तीन शक्तिशाली मुलुकका राष्ट्रप्रमुखबीच हुन लागेको यो भेटलाई ऐतिहासिक मानिएको बीबीसीले लेखेको छ ।

चीनको दक्षिणी सहर सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले जानकारी दिएकी हुन् ।

उनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले यस भेटमा विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउनेछन् । आणविक हतियारको विस्तार विश्वका लागि निकै खतरनाक रहेको ट्रम्पको धारणा छ ।

विश्वका प्रमुख आणविक शक्तिबीच हुने छलफलमा इरानको विषयसमेत उठ्न सक्ने बताइएको छ । तर, युक्रेन युद्धबारे भने छलफल हुने सम्भावना नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले भेटवार्ताको पुष्टि गरिसकेको छ भने चीनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी समाचार संस्था एपी र रोयटर्सका अनुसार तीन नेताबीचको छलफलपछि कुनै औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छैन ।

ट्रम्प बुधबार राति सेन्जेन पुग्नेछन् । त्यसपछि दुई दिनसम्म चल्ने एपेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । उनले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । सन् २०२५ मा दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ । ह्वाइट हाउसकी प्रवक्ता वेल्सले चीन भ्रमणको अन्त्यमा अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच त्रिपक्षीय बैठक हुने बताएकी छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले यसअघि एपेक सम्मेलनका क्रममा राष्ट्रपति सीले विभिन्न देशका नेतासँग द्विपक्षीय वार्ता गर्ने जानकारी दिए पनि ट्रम्प र पुटिनसँगको त्रिपक्षीय भेटबारे भने समाचार सार्वजनिक गरेको छैन । रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भने यसअघि नै यस्तो भेटवार्ताका लागि सकारात्मक संकेत प्राप्त भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस