काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको प्रदेश अधिवेशनको मिति एक दिन पछाडि सारिएको छ । हरिबोधिनी एकादशी परेकाले मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन अब मंसिर ५ गतेदेखि सञ्चालन हुने भएको हो ।
सचिवालय समितिका अनुसार धार्मिक पर्वका कारण अधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरिएको छ । संशोधित तालिकाअनुसार मंसिर ५ गते गण्डकी प्रदेशबाट अधिवेशन सुरु हुनेछ ।
त्यसपछि मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेस, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते वाग्मती प्रदेशमा अधिवेशन आयोजना गरिनेछ । सबै प्रदेशको अधिवेशनमा सभापति देउवा स्वयं सहभागी हुने बताइएको छ ।
देउवा पक्षले आफ्नो महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । निर्वाचन क्षेत्रबाट ३८ जनाका दरले, ७५३ स्थानीय तहबाट प्रतिनिधि, ३०० मनोनीत सदस्य, भ्रातृ संस्थाबाट २०० तथा जनसम्पर्क समितिबाट २०० प्रतिनिधिसहित पालिका प्रमुख र अन्य प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।