काठमाडौं, ८ असोज । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ७७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६२९ दशमलव ८१ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर २,६१८ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच भएको छ ।
बिहीबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये १७६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९५ धितोपत्रको मूल्य घटेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये निर्जीवन बीमा समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूहको ०.९७, जीवन बीमाको ०.७०, माइक्रोफाइनान्सको ०.६१, बैंकिङ समूहको ०.४६, म्युचुअल फण्डको ०.४२ र होटेल एण्ड टुरिजम तथा हाइड्रोपावरको उपसूचक समान ०.१३ प्रतिशतले बढेको छ ।
बिहीबार नेपाल लुब आइल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १२ दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै, सोनापुर मिनरल एण्ड आइल लिमिटेडको ७.६५, कुमारी सबल योजनाको ७.५६, घोराही सिमेन्टको ७.०७ र सीआईसी नेपाल लघुवित्तको ६.४७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज मिड सोलू हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ११ दशमलव ५८ प्रतिशतले घटेको छ भने धौलागिरी लघुवित्तको १०.१९ प्रतिशतले घटेको छ ।