काठमाडौं, ५ असोज । चालू अर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने रकम बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको साउनसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा ३ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ छुट्याएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ३९ दशमलव ५७ प्रतिशतले बढी हो । गत आवको साउनसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ८४ अर्ब २ करोड रुपैयाँ छुट्याएका थिए ।
यस्तै अघिल्लो महिना असारको तुलनामा भने बैंकहरूले छुट्याएको लोन लस प्राभिजन शुन्य दशमलव ७३ प्रतिशतले घटेको छ । गत असारमा यस्तो रकम ३ खर्ब ४९ अर्ब ४९ करोड रहेको थियो । यो रुकम चालू आवको साउनमा घटेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको साउनसम्ममा लोन लस प्रोभिजनका लागि छुट्याइएको रकम सबैभन्दा धेरै वाणिज्य बैंकको रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरूले यसका लागि ३ खर्ब ७ अर्ब ३१ करोड छुट्याएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ३१ प्रतिशतले बढी हो । गत आवको साउनसम्ममा यस्तो रकम २ खर्ब ४५ अर्ब २३ करोड रहेको थियो ।
विकास बैंक वित्तीय संस्थाहरूले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम ४ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको साउनसम्ममा विकास बैंकहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न २७ अर्ब ९७ करोड छुटेयाएकोमा यो रकम बढेर चालू आवको साउनमा २९ अर्ब २३ करोड पुगेको छ ।
त्यस्तै वित्त कम्पनीले सो शीर्षकमा १० अर्ब ३७ करोड रुपैयाँ छुट्याएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ७९ प्रतिशतले कम हो । गत साउनसम्ममा वित्त कम्पनीहरूले यसका लागि १० अर्ब ८१ करोड रकम छुट्याएका थिए ।