काठमाडौं, २१ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा बाढीपछि अवरुद्ध बनेको आवतजावत पुनः सञ्चालनमा ल्याउन नेपाली सेनाले एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको छ ।
भदौ १० गते आएको बाढीले त्रिशूली नदी आसपासका अधिकांश पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात सेवा प्रभावित भएको थियो । देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि स्थानीयको आवतजावत सहज बनाउन सेनाको इन्जिनियरिङ फौज परिचालन भएको हो ।
सेनाले तादी नदीमा ६० मिटर लामो र ५.५ मिटर चौडा एक्रो ब्रिज निर्माण गरिरहेको छ । उक्त पुलले ५० टनसम्मको भार धान्न सक्ने जनाइएको छ ।
निर्माण कार्य तीव्र गतिमा अघि बढाइएकाले केही दिनमै पुल सञ्चालनमा आउने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा रोकिएको यातायात र दैनिक आवतजावत सहज हुने स्थानीयको आशा छ ।