प्रतिनिधिसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

अनलाइनसमय |
१७ भदौ २०८३
प्रतिनिधिसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं, १७ भदौ । रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले राखेको प्रस्तावसर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्र्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए ।

उनले बाढीमा परेर ज्यान गुमाएर र उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना पनि गरे ।

यही भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ । हालसम्म बाढीमा परी १ हजार ११४ जनाको शव फेला परिसकेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा तीन सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१७ जना र नवलपरासी पश्चिम १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९१३ जनाको उद्दार गरिएको छ । ३ हजार ९१६ जना अझै बेपत्ता छन् । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ४५३ जना व्यक्तिलाई राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस