आज जनैपूर्णिमा पर्व मनाइदै

अनलाइनसमय |
१२ भदौ २०८३
आज जनैपूर्णिमा पर्व मनाइदै

काठमाडौं, १२ भदौ । नव यज्ञोपवीत (जनै) तथा रक्षासूत्र धारण गरी आज देशभर जनैपूर्णिमा पर्व मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बीहरू बिहानै नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने परम्परा छ ।

धार्मिक विधिअनुसार मन्त्र उच्चारण गरी तयार पारिएको रक्षासूत्र ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् । नयाँ जनै धारण गर्दा नकारात्मक शक्तिबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ ।

जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले विधिपूर्वक जनै परिवर्तन गर्ने चलन छ । पूर्णिमाको बिहान स्नानपछि ऋषिहरूलाई तर्पण तथा पूजा गरी मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहित आठ ऋषिलाई पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ‘ऋषितर्पणी’ समेत भनिन्छ ।

जनैलाई वैदिक परम्परामा ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा लिइन्छ । जनै र रक्षाबन्धन बाँध्न बिहानैदेखि पशुपतिनाथ, वसन्तपुरको अशोकविनायक, वाग्मती किनार तथा देशभरका विभिन्न मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस