काठमाडौं, २४ साउन । नेपालको वित्तीय प्रविधि (फिनटेक) क्षेत्रका नयाँ प्रविधि, सेवा र उत्पादनलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।
फिनटेक एलायन्स नेपालको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ ।
तीन दिनसम्म चल्ने एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी कक्ष राखिने आयोजकले जनाएको छ । त्यस्तै, प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिने दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ समेत स्थापना गरिनेछ ।
एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स तथा लेन्डिङ टेक्नोलोजीलगायतका पछिल्ला फिनटेक समाधानहरू प्रदर्शन गरिनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना नयाँ प्रविधि र उत्पादनको औपचारिक लन्च तथा रिभिलसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोमा ६ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, नियामक निकाय, लगानीकर्ता र प्रविधि स्टार्टअपसहित फिनटेक क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षको सहभागिता रहनेछ ।
व्यावसायिक सम्बन्ध विस्तार र नेटवर्किङलाई प्राथमिकता दिँदै एक्स्पोको पहिलो दिन ‘नेटवर्किङ डिनर’ आयोजना गरिनेछ । यसै वर्षदेखि पहिलोपटक ‘प्रिमियम लाउन्ज’ को समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
एक्स्पो अवलोकनका लागि साधारणतर्फ २०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । टिकट बिक्री तथा व्यवस्थापनका लागि ‘खल्ती’ लाई आधिकारिक टिकटिङ पार्टनर बनाइएको छ ।
आयोजकले एक्स्पोलाई नेपालमा विकसित हुँदै गएको फिनटेक इकोसिस्टम, डिजिटल वित्तीय सेवा र प्रविधिमा आधारित नवप्रवर्तनबीच सहकार्य बढाउने महत्वपूर्ण मञ्चका रूपमा प्रस्तुत गरेको छ ।