अतिरिक्त समयमा अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वविजेता

अनलाइनसमय |
४ साउन २०८३
अतिरिक्त समयमा अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वविजेता

काठमाडौं, ४ साउन । स्पेनले २०२६ फिफा विश्वकपको उपाधि जित हासिल गरेका छन् । अमेरिकाको न्यूजर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वविजेता बनेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । खेल बराबरीमा टुंगिएपछि विजेताको टुंगो अतिरिक्त समयमा लाग्यो । त्यसअघि इन्जुरी समय (९०+४) मा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो ।

संख्यात्मक अग्रताको पूरा फाइदा उठाएको स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक प्रहार गर्‍यो । पेड्रो पोरोको सटीक क्रसलाई निको विलियम्सले हेडमार्फत फेररान टोरेसतर्फ मिलाइदिएपछि टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए ।

सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि पुनः फुटबलको सर्वोच्च उपाधि उचाल्दै दोस्रो पटक विश्वकप ट्रफी हात पारे । युरो २०२४ को विजेता बनेको स्पेनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि समेत कब्जा गर्न सफल भएको हो ।

यता, लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरै रह्यो । सन् २०२२ को विजेता टोली यसपटक फाइनलमै रोकिँदै उपविजेतामा सीमित बन्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस