काठमाडौं, १८ जेठ । म्यानमारको उत्तरपूर्वी क्षेत्रमा भएको एक शक्तिशाली विस्फोटमा परी ४५ भन्दा बढी मानिसको मृत्यु भएको छ ।
चीनको सीमाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्ने नम्खाम टाउनसिपको काउङटुप गाउँमा खानी सञ्चालनका लागि प्रयोग गरिने विस्फोटक पदार्थ भण्डारण गरिएको भवनमा आइतबार दिउँसो करिब १२ बजे विस्फोट भएको हो । उद्धारकर्मीहरू र स्वतन्त्र सञ्चारमाध्यमका अनुसार घटनामा करिब ७० जना घाइते भएका छन् भने आसपासका १०० भन्दा बढी घरहरूमा गम्भीर क्षति पुगेको छ ।
स्थानीय उद्धारकर्मीहरूका अनुसार आइतबार साँझसम्म ६ बालबालिकासहित ४६ जनाको शव फेला पारिएको छ भने ७४ जना घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल पु¥याइएको छ ।
घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । शान राज्यको स्थानीय अनलाइन समाचार संस्था ’श्वे फी म्याय’ लगायतका केही सञ्चारमाध्यमहरूले भने मृतकको संख्या ५० देखि ५५ जनासम्म पुगिसकेको दाबी गरेका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले पनि विस्फोटबाट ठूलो मानवीय र भौतिक क्षति भएको पुष्टि गर्दै स्थानीय प्रशासनले प्रभावितहरूलाई राहत र पुनःस्थापनाको काम सुरु गरिसकेको जनाएको छ ।
यो क्षेत्र हाल म्यानमार सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको जातीय विद्रोही समूह ‘ताआङ नेशनल लिबरेशन आर्मी’ (टिएनएलए) को नियन्त्रणमा छ । टिएनएलएले आफ्नो टेलिग्राम च्यानलमार्फत विज्ञप्ति जारी गर्दै खानी तथा ढुङ्गा उत्खननका लागि प्रयोग गरिने ‘जेलिग्नाइट’ नामक विस्फोटक पदार्थ आफ्नै आर्थिक विभागले सो भवनमा भण्डारण गरेको स्वीकार गरेको छ ।
विज्ञहरूका अनुसार जेलिग्नाइटलाई लामो समयसम्म वा उचित ढंगले भण्डारण नगरिएमा यो अत्यन्त अस्थिर भई आफैँ विस्फोट हुने खतरा रहन्छ । विद्रोही समूहले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सन् २०२१ फेब्रुअरीमा म्यानमारको सेनाले जननिर्वाचित नेता आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि देश गम्भीर राजनीतिक संकट र सशस्त्र द्वन्द्वको चपेटामा परेको छ । यो नम्खाम क्षेत्र पनि सन् २०२३ को अन्त्यतिर टिएनएलएसहितको विद्रोही गठबन्धनले सैन्य शासनविरुद्ध ठूलो आक्रमण गरेर आफ्नो नियन्त्रणमा लिएको थियो । गत वर्ष अक्टोबरमा चीनको मध्यस्थतामा दुवै पक्षबीच युद्धविराम सम्झौता भए पनि यस क्षेत्रमा अझै पनि तनावपूर्ण स्थिति कायम छ ।