काठमाडौं, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञानविभागले जनाएको छ ।
यसैका कारण अहिले कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
