काठमाडौं, ५ जेठ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दश महिनामा साढे ६ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख ६१ हजार ७६१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ५२ प्रतिशतले कम हो । गत आवको दश महिनामा ६ लाख ८५ हजार ९६२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
चालू आवको पछिल्लो महिना वैशाखमा मात्रै वैदेशिक रोजगारीमा जान ७४ हजार ४२९ नेपालीले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६५ हजार १० पुरुष र ९ हजार ४१९ महिला छन् । अघिल्लो महिना चैतको तुलनामा वैशाखमा यस्तो सङ्ख्या २० दशमलव ३९ प्रतिशतले बढेको छ । गत चैतमा ६१ हजार ८१९ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।
यसैगरी, वैशाखमा नयाँ श्रम स्वीकृति लिएर ४१ हजार ३२४ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ६ हजार ५५२ र पुरुष ३४ हजार ९७२ जना छन् ।
यस्तै संस्थागतबाट २३ हजार ४५३ पुरुष र २ हजार ९८० महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । वैशाखमा व्यक्तिगततर्फबाट १० हजार ८६९ पुरुष र ३ हजार २६३ महिलाले श्रम स्वीकृति लिएका छन् भने
व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर ३३ हजार १०५ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ६२३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्ललेख छ ।
वैशाखमा मलेसियाका लागि सबैभन्दा धेरै १७ हजार २५२ जनाले श्रम स्वीकृति लिएका छन्, त्यस्तै, युएईका लागि १७ हजार १०८, कतारका लागि १० हजार ६६७, साउदी अरबका लागि लागि ८ हजार ६६४ र कुवेतका ३ हजार २७९ जनाले श्रम स्वीकृति लिएका छन् ।