काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर सम्बन्धी इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
भीमदत्तनगरपालिका–४, महेन्द्रनगरमा सञ्चालित सो मनिचेञ्जरले भारतीय मुद्रा (भारु) खरिद–बिक्रीको कारोबार गर्दै आएको थियो । कम्पनीले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेज गरिदिन नेपाल राष्ट्र बैंकसमक्ष स्वैच्छिक रूपमा निवेदन पेस गरेको थियो ।
कम्पनीको स्वैच्छिक निवेदनपश्चात् ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम बैंकको निर्णयअनुसार उक्त इजाजतपत्र औपचारिक रूपमा खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।