काठमाडौं, १० मंसिर । चालूु आर्थिक वर्ष (आव) २०८२/८३ को चार महिनामा नेपालले १३८ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३४ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग १८ करोड ६ लाखभन्दा बढीको बचतमा छ । चार महिनामा नेपालले डेनमार्कतर्फ ४३ करोड ३६ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने २५ करोड २९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।
डेनमार्कपछि नेपाल सबैभन्दा धेरै पोर्टो रिको बचतमा छ । कात्तिकसम्ममा नेपालले पोर्टो रिकोतर्फ १८ करोड १७ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने १ करोड ६ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा पोर्टो रिकोसँग १७ करोड ११ लाख रुपैयाँले बचतमा छ ।
त्यस्तै, नेपालको नेदरल्याण्डसँग ८ करोड २२ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ ५६ करोड ६९ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट ४८ करोड ४७ लाखको वस्तु आयात गरेको छ ।

यसैगरी चालू आवको वैशाखसम्ममा नेपालले १३८ मलुकसँग व्यापार गर्दा १०४ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको कात्तिकसम्म नेपालले भारतसँग मात्रै ३ खर्ब ४९ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ४ खर्ब ६२ अर्ब २४ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ १ खर्ब १२ अर्ब ६५ करोडको वस्तु निर्यात गरेको छ ।
भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चार महिनामा नेपालले चीनतर्फ १ अर्ब मूल्य बराबरको वस्तु निर्यात गर्दा १ खर्ब ६४ अर्ब २६ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग १ खर्ब ६३ अर्बभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै अर्जेन्टिनासँग ४२ अर्ब ९२ करोड, साउदी अरबीयासँग ११ करोड ७८ लाख, ब्राजिलसँग १० अर्ब ८२ करोड र युएईसँग ८ अर्ब ७९ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।
