दाउरा, मुढा, पेलेट र अन्य वस्तुमा कर लाग्ने, काठको ब्रिकेटमा मात्रै छुट

अनलाइनसमय |
१० मंसिर २०८३
दाउरा, मुढा, पेलेट र अन्य वस्तुमा कर लाग्ने, काठको ब्रिकेटमा मात्रै छुट

काठमाडौं, १० मंसिर । बाल्ने दाउरा, मुढा, चिरेको काठ, काठको धुलो र पेलेटलगायतका वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ भने काठको ब्रिकेटमा मात्रै कर छुट हुने भएको छ ।

आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ ले संशोधन गरेको मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार शीर्षक ४४.०१ अन्तर्गतका सबै वस्तुमा भ्याट छुट नहुने स्पष्ट पारेको हो ।

विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ (कर छुट हुने वस्तु तथा सेवाहरू) अन्तर्गतको समूह ११ (अन्य वस्तु तथा सेवा) को खण्ड (अ) मालवस्तुहरूअन्तर्गत शीर्षक ४४.०१ मा उल्लिखित सबै वस्तुमा कर छुट हुने हो कि भन्ने विषयमा विभिन्न डिभिजन वन कार्यालयहरू, ब्रिकेट तथा पेलेट उत्पादन गर्ने उद्योगहरू, सरोकारवाला तथा सर्वसाधारणमा अन्योल र द्विविधा उत्पन्न भएको थियो । सोही विषयमा ध्यानाकर्षण भएपछि विभागले कर छुटको दायरा स्पष्ट पारेको हो ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम अनुसूची–१ मा रहेको चार अङ्कको एचएस कोडको शीर्षकमा उल्लिखित वस्तु तथा सेवाहरूमा स्वतः कर छुट नहुने विभागले जनाएको छ । कर छुट पाउन उक्त शीर्षकअन्तर्गत उल्लेख भएको आठ अङ्कको एचएस कोडको उपशीर्षकमा उल्लिखित तथा स्पष्ट रूपमा किटानी भई उल्लेख भएका वस्तु तथा सेवा नै हुनुपर्ने कानुनी व्यवस्था छ ।

आठ अङ्कको उपशीर्षकअन्तर्गत नै एक वा सोभन्दा बढी वस्तु तथा सेवाहरू पर्ने भए तापनि स्पष्ट रूपमा किटानी भएको वस्तु तथा सेवामा मात्र कर छुट लागू हुने सूचनामा उल्लेख छ ।

आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ को समूह ११ को खण्ड (अ) मालवस्तुहरूअन्तर्गत शीर्षक ४४.०१ मा बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा (विलेट), हाँगाबिँगा वा दाउराको बाँधेको बिटो वा यस्तै रूपका वस्तु राखेको छ । यस्तै, सोही शीर्षकमा काठका चोइटाचोइटी वा मसिनो टुक्राटाक्री (पार्टिकल), काठ चिरेको धुलो, काठको अवशेष र रद्दी वस्तु, मुढो, ब्रिकेट, पेलेट वा यस्तै रूपमा एकत्रित गरिएको वा नगरिएको वस्तुसमेत समेटिएका छन् ।

तर, तीमध्ये उपशीर्षक ४४०१.३२.०० मा काठको ब्रिकेटहरूलाई समावेश गरी उक्त उपशीर्षकमा पर्ने काठको ब्रिकेटहरू लाई मात्र मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था गरिएको विभागले प्रस्ट पारेको छ । शीर्षक ४४.०१ मा उल्लिखित बाँकी सबै मालवस्तुहरूमा कर छुट नहुने र उपशीर्षक ४४०१.३२.०० मा उल्लिखित काठको ब्रिकेटहरूमा मात्र मूल्य अभिवृद्धि कर छुट हुने सूचनामा उल्लेख छ ।

न्यून बिजकीकरण गर्नेलाई कारबाहीको चेतावनी
यसैगरी विभागले निर्माण क्षेत्रलगायत केही क्षेत्रका करदाताले बजार मूल्यभन्दा कम रकमको बिल काटेको जानकारी आएपछि व्यावसायिक कारोबारमा वास्तविक मूल्यमै बिल बिजक जारी गर्न करदातालाई निर्देशन दिएको छ ।

व्यावसायिक कारोबारमा बिल बिजक जारी गर्नैपर्ने कानुनी व्यवस्था रहेको विभागले सूचनामा उल्लेख गरेको छ । तर केही करदाताले कारोबार गर्दा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १३ बमोजिम बजार मूल्यमा कारोबार देखाएका छैनन् । विभागका अनुसार उनीहरूले न्यून बिजकीकरण वा अवास्तविक बिजकीकरण गरेर कारोबार गरिरहेका छन् । यस्तो गर्दा कारोबारको वास्तविक आकार लुक्छ र सरकारले पाउनुपर्ने कर घट्छ । त्यसैले विभागले सम्बन्धित सबै करदातालाई वास्तविक मूल्यमै बिल बिजक जारी गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस