काठमाडौं, २० वैशाख । औद्योगिक विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’अन्तर्गत प्रारम्भिक चरणमा छनोट भएका परियोजनाको सूची सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशित गर्दै १ हजार ३०१ ओटा परियोजनाहरूको नाम सार्वजनिक गरेको हो ।
प्रारम्भिक सूचीमा कृषि, पशुपालन, प्रविधि, पर्यटन र उत्पादनमूलक क्षेत्रका विभिन्न स्टार्टअपहरू समेटिएका छन् । छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेका छन् ।
चालु आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै गत कात्तिक १९ गतेदेख मंसिर ९ गतेसम्म आवेदन आह्वान गरिएको थियो । सो अवधिमा स्टार्टअप कर्जाका लागि देशभरबाट कुल १० हजार २४४ ओटा आवेदन परेका थिए । जसमा ८ हजार २०३ ओटा अनलाइन र दुई हजार ४१ ओटा भौतिक रूपमा दर्ता भएका थिए ।
प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्यांकनका लागि व्यावसायिक विवरण आगामी २०८३ वैशाख २३ सम्म अनिवार्य पठाइसक्नुपर्ने प्रतिष्ठानको सूचनमा उल्लेख छ ।
विवरण प्रतिष्ठानले तोकेको ढाँचामा भरेर आधिकारिक ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाउने प्रस्तावक स्वतः अयोग्य हुने प्रतिष्ठानले जनाएको छ ।
प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्यांकनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया सुरु हुनेछ ।