अब “यहाँ श्रम गरिन्छ” भन्दै प्रचार गर्न नपाइने, ३० चैतसम्म प्रचार सामग्री हटाउन विभागको निर्देशन

अनलाइनसमय |
२७ चैत २०८२
अब “यहाँ श्रम गरिन्छ” भन्दै प्रचार गर्न नपाइने, ३० चैतसम्म प्रचार सामग्री हटाउन विभागको निर्देशन

काठमाडौं, २७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्य भन्दै भ्रामक प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थालाई यस्तो प्रचार यही चैत ३० गते (सोमबार)भित्र हटाउन निर्देशन दिएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै विभिन्न किसिमका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका प्रचार सामग्री सोमबारसम्म हटाउन निर्देशन दिएको हो । सो अवधिमा नहटाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ ।

केही साइबर सेन्टर, इन्स्टिच्युट तथा अन्य संस्थाहरूले “यहाँ श्रम गरिन्छ”, “श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ” वा “श्रम अनलाइन फारम भरिन्छ” जस्ता सन्देश प्रयोग गरी वैदेशिक रोजगारीमा जान चाहने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षित गर्ने तथा अनावश्यक शुल्क असुल्ने गरेको गुनासो प्राप्त भएको विभागले जनाएको छ ।

श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम प्रचलित कानुन अनुसार वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ । यस बाहेक अन्य कुनै संस्था वा व्यक्तिले यस्तो कार्य गर्नु गैरकानुनी हुने विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस